जातपात विरोधि : धर्मरत्न यमि र हिरादेवी यमि

जातपात विरोधि ः धर्मरत्न यमि र हिरादेवी यमि

नानी बहादुर खड्गी

स्व धर्मरत्न यमि र स्व हिरादेवी यमिलाई श्री विष्णु भक्त भुजुको तर्फबाट मैले चिन्ने मौका पाएँ । राणाहरुको समयमा श्री भुजुले धर्मरत्नजीलाई मेरो घरमा लुकाउन ल्याउनु भएको हो । हिरादेवीज्यूले त्यसबेला लुकेर पार्टीहरुको गोप्य कागज र कुराहरु दिनुहुन्थ्यो ।
हिरादेवी पछि पार्टीको भित्र भित्रको कुराहरुमा चलेको थाहापाएर उहाँको पनि खोजी तलासी भयो र उहाँ पनि मेरै घरमा लुकेर बस्नु भयो । त्यो बेला अछुत जात भनेर सारै हेला हुन्थ्यो, कतै चलाउँदैनथ्यो । तर यमिजी र वहाँको श्रीमतीले मेरो घरमा लुकेर बस्नु हँुदा केही छुवाछुत गर्नु भएन संगै खुशीसाथ खान्थ्यौ । हिरादेवी लुकेर भूमिगत बस्नु हँुदा उमादेवी,जगदेश्वरी,केशरी प्रधानांग व्यास प्रधानांग, प्रेमरत्न बज्राचार्य, इन्दु ढोजू, , साहना प्रधानहरुसंग सम्पर्क राख्नु हुन्थ्यो ।

त्यसबेला ‘अछुत’ जातलाई धारामा पानी समेत लिनदिन्न थिए । स्कूलमा ‘अछुत’ जातलाई पढ.न दिदैनथे । जहाँ गए पनि छोइ देला भनेर पिर हुन्थ्यो । त्यस्तो बेला यो ‘अछुत’ जातलाई यसरी हेला गरेर खेर फाल्नु भएन यिनीहरुलाई उठाउनु पर्छ भनेर अग्रसर हुनेमा सबभन्दा पहिला स्व. धर्मरत्न यमि र वहाँको श्रीमती हिरादेवी हुनुहुथ्यो ।


 ‘अछुत’ जातलाई पढ्नेसम्म मौका हँुदैन थियो । स्कूलमा पस्नसम्म पनि दिदैनथे । यसरी ‘अछुत’ जातिको बरबादी र अछुत सबै त्यसै खतम हुने भयोस यिनीहरुलाइँ पढ्ने मौका दिनै पर्छ र पढ्ने स्कूल खोल्नै पर्छ भनेर धर्मरत्नजी ले ‘अछुत’जातलाई एउटा स्कूल खोल्नको लागि चल्नु भयो ।
श्री टंक प्रसाद सत्तामा हुनु हुँदा धर्मरत्न यमिजीले वहाँ कहाँ जानु भएर यो स्कूल खोल्नलाई अलि पैसाको निकासा गरी नै दिनुपर्छ भन्नु भएर अलि पैसाको जोरजाम गरिदिनु भयो र भक्तपुरमा ‘आदर्श आजाद राष्ट्यि प्राथमिक स्कुल’ भनेर स्कुल’ खोलियो । यो, स्कुल खोल्नमा वहाँको ठूलो हात छ ।
वहाँले दलित जातिलाई असाध्यै माया गर्नुहुन्थ्यो र उच्च जातले दलित जातिलाई अन्याय, गरेको कुरामा खूब खण्डन गर्नुहुन्यो । म राणा शासनको समयमा कति भूमिगत बस्नु प¥यो,कति चल्नु प¥यो, यो राजनैतिक जागरण वहाँकौ प्रेरणले हो । मेरो लागि वहाँले नै ठूलो प्रभाब पार्नु भएको छ ।
त्यसबेला ‘अछुत’जातलाई कसैले चलाएनन् । कसैले चलाएनन् । कुनै कुनै नेताहरुले ‘अछुत’ जातिको कुरा गर्थे तर व्यवहारमा कसैले चलाएनन् । तर हिरादेवी भाउजुले खुशीसाथ आफ्नो घरमा पनि भात संगै ख्वाउनु हुन्थ्यो र हाम्रो घरमा पनि खुशिसाथ वहाँहरु दुबै जना खान आउनु हुन्थ्यो । हाम्रो ‘अछुत’ जातलाई ह्रदय देखि नै माया दिने वहाँहरु दुबै जनालाई हामी सबैले धेरै समझन्छौं ।

From Dharma Heera Smriti Grantha 

B S 2046