धर्मरत्न यमि, हाम्रो राष्ट्रियता यमि प्रकाशन, २०१८, पृ. ४९

"राष्ट्रिय स्वाभिमान तथा राष्ट्रिय गौरवका भावनाहरूको अभावमा देशको उत्थान या प्रगति सम्भव हुँदैन। जहाँसम्म हामीमा देश र देशवासीको एकताका भावना, जो राष्ट्रियताको मुख्य अङ्ग हो, आउँदैन त्यहाँसम्म हामीमा भावहरूको शकुचितता रहीरहनेछ र हामीले राष्ट्रिय औ राष्ट्रोत्थान भएको देखेर सन्तोषगरी प्रसन्नता प्रकट गर्न सक्नेछौं। देश विकासका योजनाहरू राष्ट्र-गौरवबाट जन्मने उत्साह बिना सफल हुँदैन। राष्ट्र-गौरवको अभावमा न हामीमा त्यो उत्तरदायित्वको भावना आउनेछ, जो उन्नति र कार्यक्षमताको लागि आवश्यक छ र न त्यो इमानदारीको भावना आउनेछ, जो राष्ट्रिय चरित्र निर्माण र सामूहिक सफलताको निमित्त अनिवार्य छ। राष्ट्रिय सम्मान तब बढ्छ, जब हामी राष्ट्रोत्थानको लागि श्रम गर्दछौं, त्याग गर्दछौं, यदी त्यसो गरेनौं भने, राष्ट्रिय उदयको कामना केवल कामनाकै रुपमा खडा रहन्छ कार्यरुपमा हुँदैन। राष्ट्रवादको यो अर्थ होइन-अर्कालाई तुच्छ र आफुहरूमा मात्र उच्च भनेर अरूलाई मतवाला भनि गाली गरेर आफुलाई तागाधारी श्रेष्ठ ठान्नु! औं 'हामी शासन गर्न, गुरु हुन आएका, अरू सबै हाम्रो रक्षा गर्न, सेवा गर्न, सास्ता सहन आएका' भन्नु राष्ट्रवाद होइन, साम्प्रदायवाद हो! नाजीवाद हो!! फासिष्टवाद हो!!! जसको चिहान द्वितिय विश्व युद्धमा खनिसकेको छ!!! राष्ट्रवादको खाश अर्थ हो राष्ट्रिय स्वाभिमानको लागि स्वावलम्बी हुनु देशवासी तमामलाई भेदभाव नगरी त्यसको लागि इमानदारी औ बहादुरीको साथ मेहनत गर्नु र मेहनतलाई सफलिभूत पार्नु!"

[धर्मरत्न यमि, हाम्रो राष्ट्रियता यमि प्रकाशन, २०१८, पृ. ४९]