Dr. Ambedkar and काठमाडौंमा “यमि छेँ” मा बसाईँ

काठमाडौंमा “यमि छेँ” मा बसाईँ

संसारमा ‘दलित’ शव्दलाई आत्मसम्मानको पहिचानका रुपमा प्रख्याति दिलाएका डा.अम्बेडकरका लागि विश्व बौद्ध सम्मेलन पनि लडाइँको मोचा थियो । उनका सहकर्मीहरुको आग्रहका कारण उनी काठमाडौंमा हुने सम्मेलनमा सहभागी हुन तयार भएका थिए, जवकि उनी त्यसबेला शारीरिक रुपमा अस्वस्थ थिए । यस्तो अस्वस्सथताबीच पनि उनी आफ्नो स्वास्थ्य उपचारको जिम्मा लिदैं आएका डा.मालवंकरका साथ नेपालसम्मको यात्रामा निस्केका थिए । उनी र उनको समूह पटनाबाट काठमाडौका लागि १९५६ नोभृम्बर १४ मा उडेका थिए । उनको समूहमा उनकी पत्नी डा.सविता अम्वेडकरका साथै औरगाबादस्थित मिलिन्द महाविद्यालयका प्रिीन्सपल एम.बी चिट्निस र बी.एच.वारेल पनि थिए । विमानस्थलमा ओर्लिदा पनि उनलाई अरुको साथ र सहयोग जरुरी थियो । पाइलटको काँध समातेर प्लेनबाट झरेका डा.अम्बेडकर को स्वास्थमा काठमाडौं बसाइँमा पनि खासै सुधार भएन ।


डा. अम्बेडकारका लागि काठमाडौंमा बस्ने व्यवस्था कलकत्ताका एम.ज्योतिले मिलाएका थिए । कलकत्ताका एम. ज्योति भनिएको व्यक्ति नेपालकै महाजन मणिहर्ष ज्योती कंसाकार हुन सक्छन् जो त्यति बेला कलकत्ताबाट व्यापार गर्थे र बौद्ध धर्मका अभियन्ता पनि थिए । उनीहरु लाई काठमाडौंमा “यमि छ्ें” नामक यस्तो घरमा बसाइएको थियो जहाँ जतभात र छुवाछुतविरुद्ध व्यावहारिक संधर्ष छेडिएको थियो । जातभात र छुवाछुतका विरोधी धर्मरत्न यम तुलाधर र हिरादेवी यमि तुलाधर को भुराख्यःस्थित घरमा उनीहरुको बसाइँ आफैमा ऐतिहासिक थियो । लोकतान्त्रिक आन्दोलनका योद्धा, पूर्व उपमन्त्री एवं लेखक धर्मरत्न यमिकै घरमा राहुल साँकृत्यायनको नेपाल बसाइ हुन्थ्यो । सम्भवतः सम्मेलनका लागि नेपाल आएका ती दुबै विद्धान्को एकसाथ बसाइँ भएको थियो ।


डा. अम्वेडकरले काठमाडौं बसाइँको क्रममा सम्पादनको काम गर्नेगरी केही पाण्डुलिपि लिएर आएका थिए । ती पाण्डुलिपि उनका अपूर्ण किताब र लेखसँग सम्वन्धित थिए । “‘दि बुद्ध एण्ड हिज धम्म” जस्ता बृहत किताब लेखेपछि उनी “बुद्ध एण्ड माक्र्स” र ‘रिभोल्युशन एण्ड काउन्टर रिभोल्युशन इन एन्शियन्ट इण्डिया’ नामक पुस्तक लेख्दैथिए । यात्रा, तनाव र अस्वस्थबीच पनि उनको लेखाइ र सम्पादन जारी थियो । चतुर्थ बौद्ध सम्मेलनमा व्यक्त विचार त्यसकै प्रतिविम्वन र पोप्टस्क्रिप्ट थियो ।

Published By:

SAMATA foundation
kathmandu Nepal